श्रीलङ्का टापुमा बाढी तथा नदी कटानको स्थलगत निरीक्षण

सुनसरी — सप्तकोशी नदीको निरन्तर कटानका कारण जोखिममा रहेको वराहक्षेत्र नगरपालिका–६ र ९ अन्तर्गतको श्रीलङ्का टापुको स्थलगत निरीक्षण गरिएको छ। नदी कटानबाट प्रभावित क्षेत्रको अवस्था बुझ्न सुनसरी निर्वाचन क्षेत्र नं. ४ का सांसद इन्जिनियर दीपक कुमार साहसहितको टोली टापु पुगेको हो।
स्थानीयसँग प्रत्यक्ष भेटघाट
निरीक्षणका क्रममा सांसद साहसहितको टोलीले चिलैया र गरैया क्षेत्रमा पुगेर बाढी तथा नदी कटानको अवस्था अवलोकन गरेको थियो। टोलीमा सांसद सृष्टि भट्टराई, रास्वपा सुनसरी जिल्ला सभापति सागर दहाल, पालिका समितिका पदाधिकारी तथा सदस्यहरू सहभागी थिए।
टोलीले प्रभावित स्थानीयवासीसँग प्रत्यक्ष भेटघाट गरी बाढी र कटानका कारण उनीहरूले भोग्दै आएका समस्या तथा आगामी दिनको जोखिमबारे जानकारी लिएको थियो। स्थानीयवासीले वर्षायाम सुरु भएपछि नदी कटानको त्रास बढ्ने र हरेक वर्ष लामो समयसम्म जोखिमपूर्ण अवस्थामा बस्नुपर्ने अवस्था रहेको बताएका थिए।
सयौँ घरपरिवार जोखिममा
सप्तकोशी नदीको तीव्र कटानका कारण श्रीलङ्का टापुका सयौँ घरपरिवार प्रत्यक्ष जोखिममा रहेका छन्। टापुमा रहेका हजारौँ घरपरिवारसमेत नदी कटानको उच्च जोखिममा रहेको स्थानीयवासीले बताएका छन्।
नदीले खेतीयोग्य जमिन कटान गर्दै बस्ती नजिकिँदै गएपछि स्थानीयमा त्रास बढेको छ। कटानका कारण विगतमा केही परिवारले घर सुरक्षित स्थानमा सार्नुपरेको थियो। पछिल्लो जोखिमलाई मध्यनजर गर्दै स्थानीय सरकारले ११ घरपरिवारलाई उद्धार गरी विद्यालयमा सुरक्षित रूपमा राखेको छ।
संरक्षणका संरचना नै क्षतिग्रस्त
कटान नियन्त्रणका लागि गत वर्ष निर्माण गरिएका १८ वटा स्परमध्ये ९ वटा पूर्ण रूपमा क्षतिग्रस्त भइसकेका छन्। बाँकी संरचनासमेत नदी कटानको चपेटामा परेका छन्।
केही समयअघि पनि नदी कटानको जोखिम रोक्न बेलका र बराहक्षेत्र नगरपालिकाका मेयरसहित नेपाली सेना, स्थानीयवासी लगायतले श्रमदान गरेर बोरामा माटो तथा बालुवा भरी कटान रोक्ने प्रयास गरेका थिए। तत्कालका लागि नदीको बहाव रोक्ने र जोखिम न्यूनीकरण गर्ने उद्देश्यले गरिएको उक्त प्रयाससमेत प्रभावकारी हुन सकेन। नदीको तीव्र बहाव र कटानका कारण अधिकांश बोरा बगिसकेका छन् भने अहिले त्यसको नामोनिसानसमेत नरहेको स्थानीयवासीले बताएका छन्।
पटक–पटक गरिएका अस्थायी प्रयासले दीर्घकालीन समाधान दिन नसकेको भन्दै स्थानीयवासीले नदी नियन्त्रणका लागि स्थायी र प्रभावकारी योजना आवश्यक रहेको बताएका छन्। सप्तकोशी नदी पछिल्लो समय पश्चिमतर्फ सर्दै गएको र पुरानो धारतर्फ फर्कने संकेत देखिएकाले जोखिम अझ बढ्न सक्ने उनीहरूको चिन्ता छ।
आरोप–प्रत्यारोपभन्दा सहकार्यमा जोड
निरीक्षणपछि सांसद इन्जिनियर दीपक कुमार साहले राजनीति आफ्नो पेशा नभई जनताको सेवा भएको बताउनुभयो। उहाँले स्थानीयका समस्या समाधानका विषयमा एकअर्कामाथि आरोप–प्रत्यारोप गर्नुभन्दा सबै तहका सरकारबीच सहकार्य र समन्वय आवश्यक रहेको धारणा राख्नुभयो।
उहाँले बाढी तथा कटानबाट प्रभावित नागरिकलाई स्थानीय सरकार र प्रदेश सरकारले आफ्नो क्षमताअनुसार सहयोग गरिरहेको भन्दै त्यसका लागि धन्यवादसमेत व्यक्त गर्नुभयो।
साथै, स्थानीय सरकार र संघीय सांसदबीच पर्याप्त समन्वय हुन नसक्दा स्थानीय नागरिकले चाहेजस्तो विकासका काम अघि बढ्न नसक्ने र सहकार्य गर्नपर्नेमा जोड दिनुभयो।
स्थानीय तहसँग औपचारिक छलफलको प्रयास
सांसदको सचिवालयका अनुसार सांसद साहले स्थानीय तहका जनप्रतिनिधिसँग औपचारिक छलफल गरी यहाँका समस्या र गुनासा सुन्ने तथा भावी योजनाका लागि रणनीति तय गर्ने विषयमा सहकार्य गर्न पटक–पटक प्रस्ताव गर्नुभएको थियो।
सम्पूर्ण जनप्रतिनिधिलाई सहभागी गराएर औपचारिक कार्यक्रममार्फत छलफल गर्न आफू तयार रहेको जानकारी गराउँदा पनि स्थानीय सरकारले सांसदका लागि समय उपलब्ध नगराएको सचिवालयको आरोप छ।
दीर्घकालीन समाधानका लागि पहल
सांसद साहले सप्तकोशी नदी कटानको समस्या समाधानका लागि आफूले संसद्मा आवाज उठाउँदै आएको बताउनुभयो। सरकार तथा सम्बन्धित निकायसँग निरन्तर छलफल भइरहेको र कटान नियन्त्रणका लागि दीर्घकालीन योजना तयार पार्ने दिशामा पहल अघि बढाइएको उहाँको भनाइ छ।
निरीक्षण टोलीले प्रभावित क्षेत्रको संरक्षण, आवश्यक राहत तथा व्यवस्थापनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै नदी कटानको दीर्घकालीन समाधानका लागि आवश्यक पहल र समन्वय गर्ने प्रतिबद्धता जनाएको छ।
